कैलालीमा दुई महिलासहित तीनजना लागुऔषधसहित पक्राउ

 


धनगढ़ी २५ जेठ । कैलालीमा दुई महिलासहित तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२, कृष्णनगर टोलबाट ६ ग्राम १७५ मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर, ६ ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्रोभेट र एकथान डिजिटल तराजुसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय सन्जीप सिंह, धनगढी–७ बस्ने २० वर्षीया मैना साउद र धनगढी उपमहानगरपालिका–२, कृष्णनगर टोल डेरा गरी बस्ने बैतडी घर भएकी ३५ वर्षीया लक्ष्मी भट्ट रहेका छन् ।

लक्ष्मीको कोठामा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

Comments