एन बी अन्जान
प्रेमिल जोशमा रापिएको
प्रेम दिवस
यानकी भेलेनटाइन डे
अमुर्त सपना सजाएर
प्रारम्भ हुन्छ
उषाका किरण बनेर
या
उजाड मरुभूमी बनेर
यहिबाट जीवनका
प्रतिबिम्बित स्वप्निल यात्रा
यो गुलाबको फूल झैं ।
लैला मन्जुलको प्रेम होस्
या, मुना मदनको प्रेम
या त काले र भुन्टीको
भावनात्मक प्रेम होस्
आखिर
मुटु मुटुसंगको नाता
अनि
धड्कन धड्कन बीचको
पारस्परिक सम्बन्ध
प्रेम, प्रेमी, प्रेमिकासंगको
तृतिप्त उमंगको होस् ।
यही गुलाबी प्रेमबीच
नाम्लाको डामले निर्मित
पसिनाको तालु पोखरी
सुक्न पाउदैन
त्यो रातो गुलाबको फूलको सट्टा
तिखा तिखा काडाहरु सुल बनेर
मुटुमा रोपिदा
यो भेलेनटाइन डे
यानकी
प्रेम दिवससंगको नाता माथि
प्रश्न छ
प्रति उत्तर आउछ भने
मुटुमा बिझेका काडाहरु
फूल साबित हुन सक्छन्
तिम्रो प्रेमिल यो
गुलाबी मुस्कानमा, मायामा ।
त्यो रातो फूल
गुलाबको फूल
प्रेमिल गुलाबी फूल
बर्षेनि दुष्ट नजरसंग
बर्षेनि तिखा काडासंग
पौठेजोरी खेल्दै
विवशता बीचमा पनि
फुर्लुङ्ग मुस्कुराइ दिन्छ
फूल बनेर
अनि
इश्र्यालु नजर रोकिन सक्दैन
र टिपिन्छ
प्रेम दिवस
यानकी
भेलेनटाइन डे मा
प्रेमको सुचक
प्रेमको प्रतिक
रातो गुलाब
स्वीकार्ने कोही छ ?
तर विवश
सदा झैं यो घायल मुटु
हावाले भरिएको बेलुन झैं
प्वाट्ट फुट्छ
तप्प तप्प रगतका थोपाहरु
मुठी भित्र कैद हुन्छ
पैतालाको कुल्चाइमा
रातो गुलाब
स्वागतार्थ तल्लिन हुन्छ
बर्षेनि भेलेनटाइन डे
यानकी
प्रेम दिवसमा
त्यो रातो गुलाब
मेरा लागि
विवश विवश हुन्छ ।
Comments
Post a Comment