काठमाडौँ, माघ २० गते । चार÷पाँच महिनाको बीचमा प्रतिकेजीमै ३० रुपियाँ बढेको फलामे छडको भाउ घट्न थालेका छ । सरकार तथा आमसञ्चारको निरन्तरको दबाबपछि केही उद्योगी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घट्यो भन्ने बित्तिकै प्रतिकेजीमा चार रुपियाँ भाउ घटाउन थालेका छन् ।अन्तर्राष्ट्रिय बजारमा छडको कच्चा पदार्थको भाउ अघिल्लो सातादेखि घट्न थालेकाले छड उत्पादक उद्योगीले घटाउन सुरु गरेको जनाएका छन् । लक्ष्मी स्टिलले अघिल्लो सातासम्म भ्याटबाहेक ८१ रुपियाँमा प्रतिकेजीमा बिक्री गरेकोमा यो साता ७७ रुपियाँमा बिक्री गर्न थालेको जनाएको छ ।
बजारमा फलामे छडको भाउ बढेपछि गत पुसदेखि नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यको विषयमा उद्योगीसँग छलफल गर्ने र मूल्य बढ्नुको कारणसहित विवरण पेस गर्न निर्देशन दिएको थियो ।
विभागका निर्देशक सागर मिश्रले विभागको निरन्तरको दबाबपछि फलामे छडको केही भए पनि मूल्य घटेको र अब सबै छडको भाउ क्रमशः घट्ने विश्वास व्यक्त गर्नुभयो । विभाग निरन्तरको दबाबले गर्दा नै अन्तर्राष्ट्रिय बजारमा छड उत्पादन गर्ने कच्चा पदार्थको मूल्य घट्न थाल्ने बित्तिकै उद्योगीले भाउ घटाउन थालेको उहाँको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले फलामे छडको भाउ घटेको भनेर मात्रै नहुने भन्दै अन्तर्राष्ट्रिय बजारमा जस्तै भाउ घटेको वा नघटेको विषयमा पनि अनुगमन हुनुपर्ने बताउनुभयो । प्रतिकेजीमा ३० रुपियाँ बढाएर चार÷पाँच रुपियाँ घटायौँ भनेर उपभोक्तालाई आँखामा छारो हाल्ने काम नगरी अन्तर्राष्ट्रिय बजार भाउसरह भाउ घटनुपर्ने उहाँको भनाइ छ ।
विभागको निर्देशनअनुसार सबै उद्योगले फलामे छडको भाउ बढेको विषयमा विवरण आधा उद्योगीले आनाकानी गरेपछि आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको तथ्यसहितको कारण पेस निर्देशन दिनुभएको थियो । सरकारले दिएको निर्देशनअनुसार २१ वटा उद्योगीमध्ये आधाले विवरण बुझाएका छन् ।
विभागका अनुसार काठमाडौँ स्टिल, हामा स्टिल, हुलाक स्टिल, पञ्चकन्या स्टिल, प्रिमियर स्टिल, लक्ष्मी स्टिल, हुलास स्टिललगायतले विवरण बुझाइसकेका छन् । विवरण नबुझाउनेले अब घटेको मूल्यसहित विवरण पेस गर्नुपर्ने विभागको निर्देशक मिश्रले भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घट्न थालेकाले अब बहानाबाजी गरेर बढेको भाउमा बिक्री गर्न नपाइने बताउनुभयो ।
उहाँले डन्डीको भाउ नियन्त्रण नभएको र आधा बढीले विवरण दिन पनि आनाकानी गरेकाले आइतबार वाणिज्य सचिवले सबै उद्योगीलाई मन्त्रालय उपस्थित हुन निर्देशन गर्नुभएको जानकारी दिनुभयो । वाणिज्य सचिवले विवरण बुझाउने र बुझाउन अटेर गर्ने सबै उद्योगलाई पत्राचार गर्न दिएको निर्देशनअनुसार पत्राचार गरिसकेको निर्देशक मिश्रको भनाइ छ ।
उद्योगीले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ घट्ने बित्तिकै भाउ घटाउने दाबी गर्दै आएका थिए ।
Comments
Post a Comment