प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालले व्यवसाय र यातायात ठप्प: कञ्चनपुरमा बसमाथि ढुङ्गामुढा प्रहार


 कैलारी पोष्ट संबाददाता २२ माघ प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानैदेखि बन्द रहेको छ।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प छ। 

दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन्। पसलहरु समेत बिहानैदेखि बन्द रहेका छन्। 

यता कैलारी गाउपालिकाको हसुलिया बजार, पबेरा मंडीका पसलहरु छिटफुट रुपमा खुलेका छन भने दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन । 

उता कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चल्दै गरेको बसमाथि ढुङ्गामुढा प्रहार गरेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको बसमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले ढुङ्गामुढा प्रहार गर्ने नेकपाकै कार्यकर्ता भएको आशंकामा खोजी भइरहेको बताए। उनले बसमा धेरै क्षति भने नभएको जनाए। 

नेकपा प्रचण्ड–नेपाल समूहको बन्दका कारण सुदूरपश्चिममा बिहानैदेखि सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन। 

तर बुधबार विभिन्न स्थानबाट छुटेका गाडीहरु भने स्कटिङमा गन्तव्यतर्फ पठाइरहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले हड्तालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। 
 

Comments