दुर्घटनामा एक युवकको मृत्यु, पाँच जना घाइते

 


डोटी, ८ माघ । डोटीमा बिहीबार भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ख १२४४ नम्बरको मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा त्यसमा सवार व्यक्तिको मृत्यु भएको हो । 

मृत्यु हुनेमा डडेल्धुरास्थित अमरगढी नगरपालिका–४ का ३० वर्षीय प्रदीप घिमिरे रहेका छन् । धनगढीतर्फ आउने क्रममा उनी सवार सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकललाई डोटीको जारायल गाउँपालिका–२ गरुडीस्थित भीमदत्त राजमार्गमा मिनी ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक नरेन्द्र घिमिरे भने घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरी, कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडामा कारले मोटरसाइकल र साइकललाई ठक्कर दिंदा चार जना घाइते भएका छन् । अत्तरियाबाट महेन्द्रनगर तर्फ गईरहेको सुपप्र ०१ ००९ प १७६० नम्बरको मोटरसाईकल र साईकललाई विपरीत दिशाबाट आईरहेको बा १० च ६०६४ नम्बरको कारले ठक्कर दिदाँ ४ जना घाईते भएका हुन । घाइतेहरुको अत्तरियास्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

Comments