माघको लागि बंगुरको मासु पाउँनै मुस्किल

 


धनगढी, २७ पुस । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघ हो । यो पर्व मनाउन थारु समुदायमा पुसको अन्तिम दिन अर्थात पुस मसान्तमा गाउँभरिका मान्छे भेला भएर (जिता मार्ने) बंगुरको कात्ने गर्दछन् ।

धनगढी नगरपालिका वडा नं. ५ तारानगरका भलमन्सा गोठु चौधरीले जिता पाउँनै मुस्किल भएको बताए । ‘माघको लागि प्रया सबैले मासु बढि अडर गर्ने भएकोले धेरै चाहिन्छ, २, ३ वटा वंगुर चाहिन्छ ।’

भलमन्सा चौधरीका अनुसार एउटा जिता फिक्स भइएसकेको र बाँकीको लागि भोली २८ गते बैठक बस्ने बताए । उनले माघको तयारीका लागि खाद्यान्नको जोहो (धान कुटाउने, चामल पिसाउने) जंगलबाट दुना टपरी बनाउनलाई पात टिप्ने, दाउरा खोज्ने काम भईरहेको बताए ।

यस्तै कैलारी गाउँपालिका वडा नं. ८ दुधिया गाउँका भलमन्सा राजाराम चौधरीले धेरै संर्घष गरेपछि जिता भटिएको बताए । उनले विगतको भन्दा महंगोमा किन्नु परेको जानकारी दिदै पहिलाको दर रेटमा नपाएपछि गाउँको सल्लाह अनुसार महगोमा पनि किन्ने निर्णय पारित भएको बताए ।

भलमन्सा चौधरीले दाउरा नभएकोलाई गाउँ नजिकैको समुदायीक बनबाट कुप्पन कटाएर डाउरा ल्याउने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाई गर्ने जस्ता तयारी भईरहेको बताए ।

माघीमा बंगुरको मासु विशेष हुन्छ, साथै माछा, घोंगी, ढिक्री लगायतको खानाका परिकार तथा गैजी, तरुल टिलको लडडु खाने चलन छ ।
थारु समुदायमा यो पर्व नयाँ वर्षको शुभारम्भ हुने भएकोले विबाहित छोरीहरुलाई पाहुन खान बोलाइन्छ ।

२ गतेसम्म उल्लासपूर्वक मनाइने माघ पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा प्रभात चौधरी बताउँछन् । माघ १ गते विहानै नुहाई दुवाई गरि आफू भन्दा ठूलोलाई ढोग गर्ने र सानालाई अर्शिवाद दिने चलन रहेको बताए ।

माघमा नुहाई सकेपछि अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीलाई ‘निसराउ’ दिने चलन कायमै छ ।

माघमा हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना हुने गर्दथ्यो तर यो वर्ष भने कोरोना महामारीका कारण सुनसान छ ।

Comments