धनगढी, १२ माघ । धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्बासीहरुको पहिचान, लगत संकलन र प्रमाणिकरण लगायतको काममा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिएको छ ।भूमिहिन र सुकम्बासीहरुको पहिचान, लगत संकलन गर्दा अपनाईने विधी, फराम भर्ने तरिका, फारामका किसिम, लगत संकलनमा अपनाउनुपर्ने सजकताका वडाका वडा सचिव, सामाजिक परिचालकहरु, भूमिहिन र सुकम्वासी लगत संकलन इकाई कार्यालय कर्मचारीहरुलाई अभिमूखीकरण गरिएको हो । धनगढी उप–महानगरपालिकाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका कर्मचारीहरुले सहजीकरण गरेको नगरप्रमुख नृपबहादुर वडले बताए ।
‘कुनैपनि भूमिहिन र सुकम्बासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो’, नगरप्रमुख वडले भने–‘त्यसका लागि लगत संकलन देखि नै त्रुटी हुनुहुदैन ।’ ‘भूमिहिन र सुकम्बासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेका छौं’, नगरप्रमुख वडले भने–‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौं ।’
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लगत संकलनका लागि चाडै कर्मचारीहरु फिल्डमा खटिने बताईन । ‘अभिमूखीकरण गरिएको छ’, उप–प्रमुख भट्टले भनिन्–‘लगत संकलन र पहिचानमा त्रुटी हुन नदिन यसले सहयोग पुग्ने छ ।’
त्यसैगरी धनगढी उप–महानगरपालिकाले सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेर काम थालिसकेको छ । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम सुकम्बासी लगत संकलन इकाई कार्यालयबाट हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले बताए । ‘ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको छैन’, उनले भने–‘अव यो काम सम्भव हुने छ ।’
Comments
Post a Comment