धनगढी, २० पुस । कैलाली प्रहरीले कैलालीको जोशीपुरबाट सालको काठ बरामद गरेको छ ।
काठ तस्करले तस्करी गर्न खोजेको गोलिया काठलाई प्रहरीले बरामद गरेको हो । आइतबारराति सुदूरपश्चिम प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटेको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–७ भगतपुरबाट १६ दशमलव २७ क्यूफिट सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
से १ त ८७२ नम्बरको ट्रयाक्टरमा पछाडि डल्लपमा लोड गरेर लगिदैं गरेको अवस्थामा चार वटा गोलिया बरामद हो । प्रहरी टोलीलाई देखेर ट्रयाक्टर चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
यसैगरी, इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरीले दुई वटा मोटरसाइकलमा लोड गरेको सालको गोलिया बरामद गरेको छ । प्रहरीले जोशीपुर गाउँपालिका–३ मा से २ प ५४२८ र से १ प ८७५९ नम्बरको मोटरसाइकलमा दुई वटा गोलिया लोड गरिएको अवस्थामा फेला पारेको हो । मोटरसाइकलमा बरामद एउटा गोलियाको लम्बाई पाँच फिट र चौडाइ ५.५ फिट र अर्को गोलियाको लम्बाइ पाँच फिट र चौडाई ३.४ फिट रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बरामद काठ, ट्रयाक्टर र मोटरसाइकल सव डिभिजन कार्यालय भजनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । (साभार पश्चिम टुडे)
Comments
Post a Comment