गेटा मेडिकल कलेजले आशा जगायो सुदूरपश्चिममा

 


धनगढी, २० पुस । निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने आशा स्थानीयवासीमा जागेको हो । स्थानीय शिक्षक गोविन्द ओझाले मेडिकल कलेज सञ्चालन हुने अवस्था देखिँदा प्रदेशमा मेडिकल शिक्षामा समृद्धि आउने विश्वास व्यक्त गर्नुभयो ।

“यसले मेडिकल पढ्ने मात्र नभइ गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ”, ओझाले भन्नुभयो, “कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्ने छ ।” साविकको सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेन्ड डा गणेशबहादुर सिंह कलेज सञ्चालन हुँदा प्रदेशको समग्र विकासका लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

“विगतमा सीमित व्यक्तिले मात्रै छात्रवृत्तिमार्फत् मेडिकल शिक्षा पढ्न पाउँथे, कतिपय व्यक्ति आफ्नै खर्चमा पढ्न विदेश जान्थे”, उहाँले भन्नुभयो, “गेटा मेडिकल कलेज सञ्चालनबाट आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहनेको सपना पूरा हुने भई मेडिकल शिक्षामा क्रान्ति नै हुने सम्भावना छ ।”



निर्माणाधीन उक्त मेडिकल कलेजका अधिकांश संरचना चालू आर्थिक वर्षभित्र पूरा हुन लागेका छन् । “चालू वर्षभित्रै सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौ”ं, कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भन्नुभयो, “अहिलेसम्म औषतमा ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ ।”

प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको गेटा मेडिकल कलेज सरकारको प्राथमिकता प्राप्त आयोजना हो । निर्माण शुरु गरिँदा रु आठ अर्ब ३४ करोड लागत अनुमान रहेको सो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ ।

शुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योलता सिर्जना देखिएको थियो । पछिल्ला वर्षमा कलेजका संरचना निर्माण कार्यले गति लिएपछि भने छिट्टै कलेज सञ्चालनमा आउने आशामा स्थानीयवासी छन् । स्थानीयवासी मानबहादुर चौधरीले कलेजका भवन संरचना निर्माण काम धमाधम भइरहँदा छिटो पठनपाठन हुनेमा आशा जागेको बताउनुभयो ।

सरकारले विसं २०६६ मा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने चार वर्षअघि मात्रै शुरु भएको थियो । अहिलेसम्म कलेज भवनको निर्माण पूरा भइसकेको छ । अस्पताल भवन र प्रशासनिक भवनको काम ९५ प्रतिशत पूरा भएको छ । छात्रावास भवनको ८० प्रतिशत र आवास गृहको काम ५० प्रतिशत सकिएको छ । निर्माणस्थलमा विभिन्न २४ संरचना निर्माणधीन छन् ।

आगामी फागुनसम्म पानी, विद्युत, फोहर व्यवस्थापनलगायतका काम शुरु गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माण स्थलको उत्तरतर्फ रहेको नदी नियन्त्रणको काम पनि भइरहेको छ ।


Comments