आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका धनगढीका चक्र रावल, समिर वड भनिने समिर विक, कुवेर खड्का, प्रमोद खड्का र मिलन चन्द धरौटी बुझाएर छुटेका हुन्। कुवेर खड्का २५ हजार, प्रमोद खड्का २० हजार र बाँकी तीन जना ३०/३० हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीको मुद्धा शाखाका नायव सुव्वा दुर्गादत्त पन्तले बताए।
भदौ २६ गते दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो।
तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका थिए भने महासंघको केन्द्रिय समितिबाट मिसन टोली समेत धनगढी पुगेको थियो।
Comments
Post a Comment