धनगढी१३ कार्तिक । धनगढीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कानूनको खिल्ली उडाउँदै निकटका व्यक्तिलाई धमाधम जागिर दिएको खुलेको छ ।
पशु सेवा विज्ञ केन्द्रले करार सेवामा कर्मचारी भर्ना गर्दा अपनाउनुपर्ने विधि, प्रक्रियाको ख्यालै नगरी नेता र प्रमुखका निकटका व्यक्तिलाई सुटुक्क जागिर दिएको खुलेको हो ।
केन्द्रले पशु चिकित्सक बिरेन्द्र चन्द, पशु स्वास्थ्य प्राविधिक शैलेन्द्र चन्द र बिमला ठगुन्नालाई सुटुक्क करार सेवामा नियुक्त गरेको हो । तर कुनैपनि सार्वजनिक निकायले करार सेवाका कर्मचारी भर्ना गर्दा आवेदन माग गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिस्पर्धा गराएर मात्र सेवा करार लिनसक्ने कानूनी प्रावधान छ । पशु सेवा विज्ञ केन्द्रले भने राजनीतिक शक्ति र पहुँचको भरमा ३ जना कर्मचारीलाई सोझै भर्ना गरेको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बसन्त सिहले भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी भर्ना सम्बन्धि कुनै कार्यविधी नबनाएका कारण समस्या भएको बताए ।
‘मन्त्रालयले कुनै कार्यविधी बनाएको छैन् । नयाँ कार्यालय खुलेपछि कामकाज गर्न जनशक्ति चाहियो । ’उनले भने, ‘त्यसैले ती कर्मचारीलाई सोझै भर्ना गरिएको कुरा साँचो हो । तर १ लाख नबढ्नेगरी २ महिनाका लागि मात्र काममा लगाएका हौँ ।’
वार्षिक स्वीकृत कार्यक्रममै कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गरिएको अर्को दावी पनि प्रमुख सिहले गरे ।
Comments
Post a Comment