कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा गृह मन्त्रालय तानिएको चर्चा हल्ला मात्र

 



धनगढी १९, भदौ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा गृह मन्त्रालय तानिएको चर्चा चलेको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी खतिवडालाई २४ घण्टा भित्र हाजिर हुन निर्देशन दिएको चर्चा चलेको हो।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले भने सो बारेमा आफुलाई कुनै जानकारी नआएको बताए। ‘मलाई अहिलेसम्म गृह मन्त्रालयबाट कुनै जानकारी प्राप्त भएको छैन्।’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने। 

उनको ठाउँमा गृह मन्त्रालयमै कार्यरत सहसचिव रामकुमार महतोलाई पठाएको चर्चा चलेको छ। तर महतोले पनि आफुलाई आधिकारीक रुपमा कुनै जानकारी प्राप्त नभएको बताए। ‘मेरो सरुवाको विषयमा अहिलेसम्म कुनै निर्णय भएको मलाई जानकारी छैन्,’ उनले भने, ‘कञ्चनपुर खटायो भन्ने विषयमा मैले पनि हल्ला मात्रै सुनेको छु।’

यता गृह मन्त्रालयका प्रवक्ता चक्रवहादुर बुढाले पनि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सहसचिव महतोको सरुवाको विषयमा कुनै निर्णय नभएको बताए। ‘सरुवाको निर्णय भएको भए मलाई अवश्य जानकारी हुनुपर्ने हो। तर अहिलेसम्म मलाई कुनै जानकारी प्राप्त भएको छैन्।’ बुढाले भने। 

यता कैलालीबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले भने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको दावी गरेका छन्। उनीहरुले गृहले पत्र पठाउँन भने बाँकी रहेको बताए। 
 

Comments