काठमाडौं- आज १७ औं निजामती सेवा दिवस । दिवसका अवसरमा सरकारले विभिन्न कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत गर्नका लागि ४० कर्मचारीको नाम छनोट गरिएको छ ।सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिने भए पनि सर्वोत्कृष्ट निजामती कर्मचारीमा भने कसैको नाम छनोट भएको छैन ।
पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ ।उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा बेइजिङस्थित नेपाली राजदूतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज जोशी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थी छन् ।
यसैगरी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार बम, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव टामलाल पाण्डे, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकृत छैटौं उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामा पनि एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनोट भएका छन् ।यसैगरी ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कारका लागि ३० जना कर्मचारी छनोट भएका छन् ।

Comments
Post a Comment