असोज ४ गते । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिनुुभयो । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।
प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ । उहाँले भन्नुभयो, “अरूको दबाबमा परेर भन्दा आफैँ सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।”
धुलिखेल नगरपालिकामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रारम्भमा एक करोड रुपियाँ राहत कोष स्थापना गरिएको थियो । त्यसमध्ये ४२ लाख बराबरको कोरोनासँग सम्बन्धित सामग्री विभिन्न निकायबाट ल्याइएको थियो । नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई अहिले आइसोलेसनमा परिणत गरिएको छ ।
धुलिखेलमा सञ्चालित क्वारेन्टाइनमा धुलिखेल आसपासका नागरिकलाई समेत सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । नागरिकलाई सुविधा दिने क्रममा ६० वर्ष उमेर पुगेका दलित र ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी लगायतको कोरोना बीमा गरिएको छ ।
तत्काल कोरोना हट्ने सम्भावना नभएको र सधैँ बन्द गरेर उद्योगधन्दा, व्यापार व्यवसाय झनै चौपट बन्दै गएकाले कोरोनाबाट उत्पन्न अबको परिस्थितिअनुसार नागरिक आफैँ सचेत बनेर अर्थतन्त्र चलायमान बनाउनुुपर्ने चुुनौती छ ।
उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणका लागि नागरिक आफैँ सचेत भई सतर्क रहन आग्रह गर्नुहुुन्छ ।
Comments
Post a Comment