मुलपानी कोरोनाको ‘हटस्पट’ बन्न सक्ने खतरा





  


टीकापुर, १२ भदाै। कैलालीको टीकापुर नगरपालिका–२ मुलपानी कोरोनाको ‘हटस्पट’ बन्ने खतरा देखिएको छ । कर्णाली नदी किनारस्थित मुलपानी क्षेत्रमा दिनहुँ सयौंको संख्यामा मानिस जाने गरेका छन् ।

त्यहाँ रहेका पोखरीमा नुहाउन दिनहुँ सयौंको संख्यामा मानिस मुलपानी जाने क्रम बढेको छ । पोखरीमा सँगै नुहाउने क्रममा कोरोना फैलिन सक्ने खतरा रहेको छ । टीकापुर नगर क्षेत्रका विभिन्न ठाउँमा मानिसहरु नुहाउन जाने गरेका छन् । नुहाउन जानेमा बढीजसो युवायुवती रहेका छन् ।

ढुंगा बालुवा संकलन गर्ने क्रममा परेको खाल्डोमा पानी जमेको छ । जमिनमूनीबाट पानी निस्कने भएका कारण सो ठाउँलाई स्थानीयले मुलपानी नामाकरण गरेका छन् । पछिल्लो समय मुलपानी घुम्न जानेको संख्या बढेपछि त्यसको व्यवस्थापन तर्फ समेत ध्यान दिईएको छ ।

वडा नं २ को कार्यालयले मुलपानीमा ‘भ्यूटावर’ निर्माण थालेको छ । सो ‘भ्यूटावर’ बाट मुलपानी क्षेत्रको दृश्यावलोकन गर्न सहज हुनेछ । कर्णाली नदी किनारको रमणीय वातावरणले पनि धेरै मानिसहरु मुलपानी घुम्न जान थालेका छन ।

तत्कालिन अवस्थामा कोरोनाको जोखिमका कारण मानिसको जमघटमा रोक लगाउन आवश्यक देखिए पनि भविष्यमा मुलपानी राम्रो गन्तव्य बन्ने देखिन्छ । स्थानीयले मुलपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रयास गरिरहेका छन ।

Comments