काठमाडौ ३ असार । सरकारले अब तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढीपहिरोका घटना भएको गृह मन्त्रालयले जनाएको छ । पानी पर्ने क्रम रोकिएको छैन, बरु ठूलो वर्षा देशभर विस्तार भइरहेको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिएको छ । उद्धार र राहतका लागि आवश्यक पर्ने सामग्री जिल्लाजिल्ला पुर्याउने निर्णय पनि बैठकले गरेको हो । यो वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले तत्काल परोपकारी संस्थासहित संयुक्त समन्वयमा पूर्वतयारी, प्रतिकार्य, उद्धार, खोज र पुनस्र्थापनामा जुट्न निर्देशन दिएका थिए । विपत्सँग जुध्न स्रोत–साधनमा कुनै कमी हुन नदिइने भन्दै उनले जिल्ला विपत् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् ।
असारको सुरुवातीमै बाढीपहिरोबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि लगत संकलन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले बताए ।
Comments
Post a Comment