काठमाडौं १७ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोपका लागि अमेरिका र बेलायतसँग पनि कूटनीतिक पहल गरेकी छन् । राष्ट्रपति भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई लेखेको पत्र आइतबार हस्तान्तरण गरिएको लन्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै, राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी हुन् । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले राष्ट्रपतिको पत्र शुक्रबार डीसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरे । राजदूत डा. खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाबारे विस्तृतमा जानकारी गराएका थिए । यसअघि बुधबार राष्ट्रपतिले भारत र चीनका समकक्षीसँग सहयोगका लागि आग्रह गरेकी थिइन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले खोप आयात गर्न उच्चस्तरीय संयन्त्रद्वारा पहल भइरहेको बताए । ‘सरकारले उच्चस्तरीय सबै संयन्त्र प्रयोग गरी खोप प्राप्तिको प्रयास गरिराखेको छ’, डा. पोखरेलले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूबाट समकक्षीमार्फत भारत, चीन, अमेरिकालगायत देशसँग खोप प्राप्तिका लागि कुराकानी भएको हामीलाई जानकारीमा आएको छ ।’
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कूटनीतिक नियोगसँग पहल गरिरहेको बताए । ‘कहिलेसम्ममा कति खोप आउने भन्ने यकिन भइसकेको छैन’, उनले भने ।
मुलुकका १४ जिल्लामा ५५ वर्ष माथिका नागरिकलाई र बाँकी जिल्लामा ६५ वर्षका नागरिकलाई पहिलो डोज खोप लगाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पहिलो डोज लगाएको ९ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने हुन्छ । करिब साढे १३ लाख नागरिकलाई तत्कालै दोस्रो खोप लगाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
‘कोभिसिल्डको दोस्रो मात्रा उपलब्ध हुने संभावना तत्कालै देखिएको छैन । कोभिसिल्ड, एस्ट्राजेनेका वा एस्केबायोजस्ता एउटै प्रकृतिका खोप उपलब्ध गराइदिन विभिन्न संयन्त्रमार्फत प्रयास भइरहेको छ । यसमा सकारात्मक जवाफ आए पनि खोप प्राप्त हुने बित्तिकै खोप लगाउँछौं’, उनले भने, ‘१२ हप्ता पछि खोप लगाउँदा पनि खोपको प्रभावकारिता रहन्छ ।’ राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले एस्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको मासिंगालाई बताएका छन् । यो समांचार अन्नपूर्ण पोष्टबाट लिईएको हो ।
Comments
Post a Comment