लघुकथा _बोस

त्रिलोचन ढकाल


वयस्क महिला बसमा चढिन् । हर्न बजाइसकेको थियो बसले । उनका शरीरमा पुराना जस्ता देखिने कुर्ता र सुरुवाल थिए । उही दिन धोएर लगाएका जस्ता सफा थिए । अँध्यारो मुखाकृति थियो उनको ।

उनका हातमा बाक्ला बाक्ला कागजका टुक्राहरू थिए । प्रत्येक यात्रीहरूका हातमा राखिदिइन् । मेरो हातमा पनि आयो । छापिएका अक्षरहरू थिए । तिनले भनेका थिए_
"मेरा पति वीर अस्पतालमा हुनु हुन्छ । मुटुको बिरामी ।डाक्टरले अपरेशन गर्नु पर्छ भनेका छन् । मसँग छोराछोरीलाई ख्वाउने खर्च पनि छैन । हजुरहरूको सहयोग भए म विधवा हुनबाट जोगिने थिएँ । मेरा लालाबालाहरू पनि बाल्यकालमै टुहुरा हुनु पर्ने थिएन ।"
बसका सबै यात्रीहरूको मन पग्लियो क्यारे । सबैले सहयोग गरे । कसैले सय रुपियाँ दिए । कसैले पचास । कसैले बिस । बिस रुपैयाँभन्दा कममा कसैले पनि हात लगाएनन् । चुम्बकले फलामका टुक्रा बटुले झैँ उनले दिएको पैसा बटुलिन् ।
ढोकाबाट बाहिर निस्किन् । ‌ढोकैमा थियो एउटा पाखुरे मान्छे । उसले पैसा र कागज समात्यो । आधा जति पैसा आफूले लियो । बाँकी पैसा र कागजका टुक्राहरू उनकै हातमा फर्काइदियो ‌।
मलाई रहस्य पत्ता लगाउने हुटहुटि भयो । बसबाट अोर्लेँ । उनी अर्को बसमा चढ्नै लाग्दा पुगेको थिएँ उनका अगाडि । उनलाई रोकेँ र भने_
"बहिनी ?"
उनी फरक्क फर्किन् मतिर । मेरो मनले नसोधी मानेन_ "तपाईंको पैसा लैजाने मान्छे को हो ? लुटेरा त होइन ? कि तपाईंका पति हुन् ?"
"पति त अस्पतालमा हुनु हुन्छ । त्यो बोसको मान्छे हो । उसको हुकुम पाएपछि मात्र यहाँ माग्न पाइन्छ । कार्ड उसैले बनाइ दिन्छ । उठेको मध्ये धेरैजसो पैसा उसैले लैजान्छ । थोरै बाँकी हामीलाई दिन्छ ।"
आनन्दआश्रम, स्याङ्जा

Comments