सुदूरपश्चिम प्रदेशका ठूला योजनाहरु

 


धनगढी,१६ जेठ । कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेज आगामी वर्षबाट संचालन हुने भएको छ । सरकारले अध्याधेशबाट जारी गरेको बजेटमा गेटा मेडिकल कलेज आगामी बर्षदेखि सञ्चालन हुने उल्लेख गरिएको छ । साढे दुई दशकसम्म बहसमै अल्झिएको गेटा मेडिकल कलेजको पुर्वाधार  निर्माणको काम अहिले अन्तिम चरणमा छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिस्नु पौडेलले मेडिकल कलेज संचालन गर्ने भने पनि त्यसका लागि छुट्याइएको बजेट भने खुलाएनन् ।

यस्तै कैलालीमा निर्मानाधिन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाइ आयोजनाका लागि दुई अर्ब ३५ करोड बजेत छुट्याइएको छ । उक्त आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य सरकारले लिएको मन्त्री पौडेलले उल्लेख गरे । पौडेलले आगामी वर्ष ९ किलोमिटर नहर निर्माण गर्दै रानी जमराबाट थप तीन हजार हेक्टरमा सिँचाई सुविधा विस्तार हुने बताए ।

आयोजना सम्पन्न भएपश्चात् २० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाईको सुविधा पुगाउने लक्ष्य राखिएको छ । रानिजमराबात चार मेघावाटको विद्युत उत्पादनको काम पनि भइरहेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन ।

यस्तै कन्चनपुरको महाकाली सिचाइ आयोजनाको नहर निर्माणका लागि पनि एक अर्ब २५ करोड बजेट छुट्याइएको छ । यो सुदूरपश्चिमको अर्को ठुलो सिचाइ आयोजना हो ।

यस्तै कैलालीको डुडेझारी र कन्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माणको काम आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको र त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बजेट भासणका क्रममा उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी क्षेत्रमा निर्माण गर्नका लागि पनि सरकाले बजेट विनियोजन गरेको जनाएको छ। बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले गोदावरीमा प्रदेश राजधानी निर्माणको लागि वित्तीय हस्तान्तरण गरिने बताएका हुन्। सुदूरपस्चिम प्रदेश सभाले कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी जंगलमा राजधानी बनाउने निर्णय गरेको लामो समय भएपनी  निर्माणको काम हालसम्म अगाडि बढ्न सकेको छैन।

यस्तै धनगढीको बेहडाबाबा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ। बेहडाबाबा ताललाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास बजेटमा उल्लेख गरिएको छ । धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा पर्ने उक्त ताल प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर नजिक पर्छ। यो समाचार पश्चिम टुडे बाट लिइएको हो ।

Comments