भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक बजारमा


 काठमाडौं २ फाल्गुन : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक बजारमा ल्याएका छन्। 

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई, डा. मीना पौडेल, तुलानारायण साह र लेखक स्वयंबाट संयुक्त रूपमा पुस्तक विमोचन गरिएको थियो।

तत्कालीन माओवादीले न्याय, समानता र स्वतन्त्रताका लागि भन्दै २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो। सोही जनयुद्ध दिवसको दिन पारेर डा. भट्टराईले पुस्तक सार्वजनिक गरेका हुन्।

तत्कालीन जनयुद्धका एउटा अगुवा नेताका रूपमा रहेका डा. भट्टराईले कुनै न कुनै रूपमा युद्ध साहित्य समेट्ने प्रयास आफ्नो पुस्तकमा गरेका छन्। चार खण्डको उक्त पुस्तकमा डा. भट्टराईले निजी संस्मरणका अनुभूति, विशिष्ट व्यक्तिहरूसँगको अनुभूति, सहिद, बेपत्ता, बन्दी योद्धाहरूका कथादेखि आफ्नो युद्धका बेलादेखि शान्ति कालसम्मका यात्रासँग सम्बन्धित विषय समेटेका छन्। 

पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनले ल्याएको परिवर्तनको स्मरण गर्दै माओवादी आन्दोलनमा डा. बाबुराम भट्टराईको योगदानबारे चर्चा गरेका थिए। विगतमा एकै पार्टीमा रहेका डा. भट्टराईसँग अहिले अलग पार्टीमा रहे पनि मुद्दाका हिसाबले अझै एकै ठाउँमा रहेको दाहालको भनाइ थियो। दाहालले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो आफ्ना कर्मले हामीलाई जुटाई नै राखेको छ। हामीलाई ती हजारौं सहिद, बेपत्ता, घाइते, अपांगता भएकाहरूले अलग हुन दिन्नन्।’ 

डा. भट्टराईले जनयुद्ध बेठीक थियो भन्नेमा सहमत हुनै नसक्ने भन्दै सबै माओवादी आन्दोलनमा रहेकाहरू फेरि एक हुनुपर्छ भन्ने बालसुलभ बुझाइ, पवित्र भावनाले भनेकोमा आफूले पनि सम्मान गर्ने तर अब एउटै पार्टी भन्ने कुरा सम्भव नभएको बताएका थिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय विश्वासको संकट भइरहेका बेला कहीँ अदालतले पनि अर्कै फैसला गर्ने हो कि भनेर आशंका उब्जिएको धारणा राखे। उनले भने,  ‘जहाँ कि कहीँ ठाउँ नै छैन। कुनै पनि ठाउँ छैन, एक अक्षर पनि छैन, एउटा धारा पनि छैन। 

तैपनि फैसला केपी ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने यो राष्ट्रिय आत्मविश्वासको संकट आज देशमा छ।’ 

जनता समाजवादी पार्टीका नेता अशोक राईले जनयुद्ध विचारको तहमा अहिले पनि जारी राख्नुपर्ने बताए। ‘जनयुद्ध अहिले पनि जरुरी छ, जारी पनि छ। मैले बन्दुक पड्काउने जनयुद्धको कुरा गरिरहेको छैन। विचारको घर्षण आज पनि छ। विचारको जनयुद्ध आज पनि जरुरी छ’, राईले भने। कार्यक्रममा डा. मीना पौडेल र तुलानारायण साहले डा. भट्टराईको पुस्तकमा टिप्पणी गरेका थिए।

यसैगरी शनिबारै प्रचण्डले अर्को कार्यक्रममा ‘जीवनगाथा’ पुस्तक विमोचन गरे। पुस्तकमा जनयुद्ध तयारीका क्रममा बर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा संगृहीत छ। प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाका जीवनी समेटिएको छ। तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्ति, २ सय ५० बेपत्ता पारिएका व्यक्ति र १ सय २ जना घाइते तथा अपांगता भएका व्यक्तिको जीवनगाथा छ। बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको पुस्तकको सम्पादन सुशील चौधरीले गरेका छन्।

Comments