कविता: बलात्कार


 

-नरबहादुर कार्की 

आमा, आमा,

छिटो उठ आमा,
भर्खरै यो छोरीको,
आफ्नै घरमा,
बलात्कार भएको छ,
मनभरि पीडा अनि,
चीत्कार छाएको छ,
अकल्पनीय घटना,
बलात्कार भएको छ,
कस्तो युग आएछ आमा ?
आफ्नै घरमा,
आफै बलत्कार भएछु ।

हरे आमा,
यो सम्झिदै झस्किने,
मनमुटु चस्किने,
कस्तो बलात्कार,
बिगतमा सुनेकी थिएँ,
चेलीका बलात्कारका काण्डहरु,
हिजो सुनेकी थिएँ,
निर्मला बलात्कार काण्ड,
भागरथी हत्याकाण्ड,
सुनिरहँदा,
आज आफ्नै घरमा,
आफ्नै बलात्कार,
के गरौँ आमा,
आफ्नै बलात्कार काण्ड भएछ ।
त्यसैले सोधिरहेछु,
आमा,
न्याय पाइन्छ कि पाइदैन ?
पाइन्छ भने कहिले र,
कहाँ पाइन्छ आमा ?
अनि,
बलात्कारीलाई कहिले,
नेल र घन्जिर लगाई,
जेल पठाइन्छ आमा ?

तर
मेरी आमा,
नाजवाफ,
मौन,
अक्न न बक्क,
‘खै छोरी’ बस् यही उत्तर,
हुन पनि हो,
आमा कसरी भनून्,
यहाँ न्याय पाइन्छ भनेर,
किनकि,
मेरो देशमा त,
सुनका डल्ला पचाएर,
हिराका हातहरुले,
नोटैनोटका पानाहरुमा,
महङ्गो गरी कोरिएका,
कानूनका ठेलीहरु त,
मेरो सरकार,
डस्टवीनमा राख्छ,
त्यतिले भएन,
केटाकेटीले कवाडसँग,
कागज दिएर,
बरफ मागेजस्तै,
मेरो सरकार,
ती कानुनका,
ठेलीहरु बेच्दै,
घुसको बिटोे माग्छ ।

त्यसैले,
अब मेरो अनुरोध,
आऊ,
अब आफै बोलौँ,
मनको कुरा खोलौँ,
अनि,
आऊ दिदीबहिनी च्यात,
तिम्रो धर्मग्रन्थको ओछ्यान,
च्यातिदेऊ तिम्रो,
कुसंस्कारको घुम्टो,
दरापार तिम्रा हातहरु,
उठाऊ बन्दुक,
चलाऊ गोलीहरु,
ती बलात्कारीमाथि,
अनि भत्काऊ,
ती बलात्कारीका सपनाहरु,
आऊ दिदीबहिनी,
सङ्गसङ्गै जाऔं,
हाम्रा लागि,
ती पापीहरुले,
कफ्र्यु लगाएका, 
पितृसतात्मक भग्न सडकहरुमा,
सगँगगैँ जाऊ,
आऊ दिदीबहिनी आऊ,
निडर भएर जाऔं,
अस्तित्वको लडाइमा जाऔं ।’

विज्ञापन

आग्रह गरेँ,
‘ए दिदीबहिनी,
अब नडराऊ,
अब नहडबडाऊ,
पापीहरुका दुस्कर्महरुमा,
लडाकु भई छापामार,
ती,
बलात्कारीहरुका,
हातहरु काटिदेऊ,
खुट्टाहरु भाचिदेऊ,
लासलाई जंगलमा,
लगेर गाडिदेऊ,
ती बलत्कारीहरुको,
अनि तिम्रो मन शान्त पार,
शान्त पार बलत्कृत,
चेलीहरुका मनहरु।’

मेरो आग्रह,
दिदीबहिनी,
हिजो पनि कयौं प्रिय चेलीहरु,
इतिहासमा थाहै नपाई,
पटक पटक यसरी नै,
मारिएका थिए,
हिजो पनि कयौं आमाहरु,
पुत्री शोकमा बिलौना गर्दै,
लासका चिहानहरु खोज्दै,
खोइ मेरो छोरीको चिहान,
खोइ कहाँनिर पर्छ,
खोज्दै, बिलौना गर्दै,
अप्रिय कोलाहलमा,
शब्दकोशका लाटा शब्दहरु,
फलाक्दै रोएरहेका थिए ।

त्यसैले अब,
हामीले दिदी बहिनीहरु,
समयका स्ट्रेचरहरूमा,
आफ्नै लासलाई सुताएर पनि,
आफ्नै जिन्दगीको पोस्टमार्टम, 
आफै गराएर अनि,
बलात्कारीका आटँहरु,
गलाउनु छ, ढलाउनुछ,
अनि,
ती बलात्कारीहरुलाई,
शमशान घाटमा,
जलाउनु छ ।.....


Comments