बाघको आक्रमणमा परी दुर्गा चौधरी गम्भीर घाइते

 


हसुलिया, ३० माघ । कैलालीको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् ।

आज विहान करिब ७ बजेतिर दुधियाकै दुर्गा चौधरीलाई बाघले आक्रमण गरेको हो । सडकमा हिड्दै गर्दा गरेका उनलाई बाघले झम्टेर वनभित्र लगेको थियो । स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले बाघले मान्छेलाई झम्टेको देखेपछि दुधियावासीलाई बोलाएका थिए । गाउँवासी पुग्दा घाइते चौधरीकै छेउमा बाघ बसेको थियो । बाघलाई धपाएर चौधरीको ज्यान जोगाएको जनाएका छन् ।
बाघले चौधरीको पछाडिबाट पिठ्यु र टाउकोमा पञ्जा मारेको भीष्म चौधरीले जानकारी दिए । दुधियाबाट बनकन्द्रीतर्फ जाने बाटोमा पाँच मिनेट जति जंगल क्षेत्र पर्दछ । बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । स्थानीयले चौधरीलाई आक्रमण गर्ने पाटेबाघ रहेको बताएका छन् ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भर्खर आफूलाई पनि जानकारी प्राप्त भएको बताए । ‘अब बाघलाई नियन्त्रण गर्ने वा के गर्ने भन्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको छ’, उनले भने ।

Comments