क्लिनफिडले मिडियामा थपिदिएको चुनौती

 


सबै टेलिभिजनलाई एउटै प्लेटफर्ममा सञ्चालनको अनुमति दिनुका साथै अन्तर्राष्ट्रिय बजार र समुदायमा पुग्ने अवसर दिनुपर्छ


क्लिनफिडले नेपाली मिडियालाई अवसर मात्रै पनि नदिन सक्छ। हरेक विषयका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् नै। क्लिनफिडका अवसर सदुपयोग गर्न नसकेमा यसले चुनौती अवश्य सिर्जना गर्ने देखिन्छ। क्लिनफिडका नेपाली मिडियाले अवसरभन्दा बढी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। क्लनिफिडले मिडियामा केकस्ता चुनौती थपिदिएको छ भन्नेबारेमा यस लेखमा केही तथ्यसहित विश्लेषण गर्ने प्रयास गरेको छु ः

हाल नेपालमा टेलिभिजनको वर्गीकरण र सोही वर्गीकरणलाई आधार मानेर विभेद गरिएको देखिन्छ। केबल र स्याटेलाइट टेलिभिजन भनेर वर्गीकरण गरिएको अनि स्याटेलाइट टेलिभजनहरू देशव्यापी प्रसारण गर्न पाउने जुनसुकै माध्यममा पनि प्रसारण हुन पाउने तर केबल टेलिभिजनहरू केबलबाट मात्रै प्रसारण हुनुपर्ने त्यो पनि देशव्यापी प्रसारणको अनुमति दिएर निश्चित भूगोलमा सीमित गरिएको छ भने अर्कातिर स्याटेलाइट टेलिभिजनहरूलाई सरकारले बर्सेनि प्रतिच्यानल लोककल्याणकारी विज्ञापनको रकम भनेर ८–१० लाखसम्म दिने गर्छ। यसबाट केबल टेलिभिजनहरू वञ्चित हुँदै आएका छन्।

अब देश क्लिनफिडको युगमा प्रवेश गरेको अवस्थमा यसरी विभेद गर्नुको सट्टा टेलिभिजनहरू एकै प्लेटफर्म हुन्, यसलाई निश्चित माध्यम र क्षोत्रमा मात्रै प्रसारण गर्नु भनेर रोक्नु त्यति न्यायसंगत देखिँदैन। यसर्थ सबै टेलिभिजनलाई एउटै प्लेटफर्ममा सञ्चालनको अनुमति दिनुका साथै अन्तर्राष्ट्रिय बजार र समुदायमा पुग्ने अवसर दिनुपर्छ। साथै कसैलाई ज्वाइँसरह लोककल्याणकारी विज्ञापनको रकम त कसैलाई खालि हातको अवसर गर्नु त्यति सान्दर्भिक देखिँदैन। अर्को चुनौती हो– अनलाइन मिडिया र युट्युब। नेपालमा एकातिर दश लाख राजस्व तिरेर टेलिभिजनको अनुमतिपत्र लिनुपर्ने अनि हरेक वर्ष एक लाख नवीकरण शुल्क, कुल आयको दुई प्रतिशत प्रसारण तथा वितरण शुल्क (रोयल्टी) अनि गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत भनेर संगीत रोयल्टी संकलन समाजलाई कुल विज्ञापनवापत प्राप्त रकमको एक प्रतिशत रकम दाखिला गर्नुपर्ने।

यति मात्रै होइन; सरकारले बेलाबेलामा दिएका निर्देशन पालनासमेत गर्नुपर्ने गरी टेलिभिजन सञ्चालन गर्नुपर्ने अवस्था देखिन्छ भने अर्कातिर अनलाइन टेलिभिजन भन्दै निःशुल्क सञ्चालन र प्रसारणको अनुमति पनि सरकारको अर्को निकायले दिने गरेको छ। यसर्थ यस्तो अन्तर किन ? कसैले प्रसारणका लागि स्याटेलाइट ट्रान्सपोन्डर रकमदेखि स्टुडियो मापदण्ड सबै पालना गर्नुपर्ने अनि श्रमजीवी पत्रकार र कर्मचारीलाई न्यूनतम पारिश्रमिक पनि दिनुपर्ने तर कोहीचाहिँ भने एउटा क्यामेरा लिएका भरमा अनलाइन टेलिभिजन सञ्चालन गर्न पाउने अवस्था छ। यसले एकातिर सरकारको राजस्वमा असर पर्ने देखिन्छ अर्कातिर मार्केटमा कलसाइन जुध्नेदेखि लिएर विज्ञापनमा समेत असर पर्ने देखिन्छ। अब राजस्व रोयल्टी नै तिर्नुनपर्ने टेलिभिजनहरूले विज्ञापन पनि सस्तोमा प्रसारण गर्ने भए; जसले विज्ञापन नपाए पनि न्यूनतम पारिश्रमिक अनि आम्दानी नभए पनि राजस्व र रोयल्टी तिर्नुपर्ने अवस्थाका टेलिभिजनलाई असर गर्ने नै भयो।

हामीकहाँ बर्सेनि धेरै विदेशी डकुमेन्ट्रीका लागि आउने गर्छन् तर खै नेपाली मिडिया र मिडियाकर्मीले यसतर्फ ध्यान दिएको ?

यति मात्रै होइन; नेपालमा युट्युब स्थानीय कानुनअनुसार दर्ता भएको छैन तर यही युट्युबमा पत्रकारिता गर्ने भन्दै कहीं दर्ता नभएका अनि प्रेस पास नलिने पत्रकारहरू पत्रकार पनि के भन्नु युट्युबहरूले नेपाली टेलिभिजन मिडियाहरूको प्रतिस्पर्धी र समानान्तर भएर कार्यक्रम दिइरहेका छन्, जसले भीउ र टीआरपी बटुल्न जे पनि शीर्षक राखिदिने, अदालतमा विचाराीिधन विषयमा पनि बोलिदिने, अदालतभन्दा पहिले आफैं फैसला सुनाउने। यति मात्रै होइन; मिडियाको धर्म र इथिक्सभन्दा बाहिर गएर प्रोग्राम दिने गरेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिएन अनि नेपाली मिडियाले पनि आफ्नो अवैधानिक प्रतिस्पर्धीका विरुद्व सशक्त भएर लागेन भने भोलिका दिन विज्ञापन त्यतातिर नजाला भन्न सकिँदैन; जसले सरकारलाई न राजस्व न रोयल्टी अनि न क्लिनफिडको औचित्य पुष्टि गर्नसमेत ग्राह्रो पर्न सक्छ।

हाल नेपालमा मिडिया उद्योग फस्टाउँदो अवस्थामा रहेकै कारण नेपालमा १२ सयभन्दा बढी एफएम र दुई सयभन्दा बढी टेलिभिजन पुगेको अवस्था र यसैगरी ३–४ हजारको संख्यामा पत्रपत्रिका र अनलाइन मिडिया पुगेको अवस्था छ; जुन अधिकांश राज्यको लोककल्याणकारी विज्ञापनका भरमा सञ्चालित छन्। यति धेरै मिडिया न राज्यले धान्न सक्छ न नेपाली दर्शक र श्रोताले चासो नै राख्छन्। यसर्थ मिडिया मर्ज गरी स्तरीय बन्नुपर्ने देखिन्छ। अब मिडिया मर्ज वा एक्वायरसम्बन्धी कानुनै ल्याएर यसतर्फ लाग्नुपर्ने देखिन्छ। धेरै मिडियाभन्दा सशक्त र क्षमतावान् मिडिया आजको आवश्कता हो। मिडियाहरू सशक्तीकरण हुने अर्को चुनौती हो।

क्लिनफिडपश्चात् हाल विदेशी च्यानलमा प्रसारित विज्ञापन नेपाली मिडियामा आउँछ भने तयारी नगरी बस्दा यसबाट अवसरभन्दा पनि चुनौती थपिने देखिन्छ। हाल नेपालमा आमसञ्चारमा मात्रै क्लिनफिड भएको अवस्थामा दूरसञ्चारका माध्यमबाट क्लिनफिड नभएमा च्यानल हेर्न सकिने अवस्थामा सरकारले दूरसञ्चारका माध्यमा क्लिनफिड लागू गरेन वा नियन्त्रण गर्न सकेन भने नेपाली मिडियामा आउने र आउनुपर्ने विज्ञापन दूरसञ्चारका साइट त्यसमा पनि सामाजिक सञ्जाल फेसबुक र ट्विटरतिर नजाला भन्न सकिँदैन। किनकि हालै मात्रै नेपालमा फेसबुक र वल्र्ड लिंकको सहकार्यमा दस हजार स्थानमा निःशुल्क बाइफाइको सम्झौता भएको समाचार आएका छन्। यसर्थ सरकारले फेसबुकलाई पनि स्थानीय कानुनअनुसार दर्ता हुने पत्राचार गर्न आवश्यक देखिन्छ।

नेपाली मिडियाहरूको सिस्टम अपग्रेडिङ पनि भएन अनि अन्तर्राष्ट्रियकरण बजार र समुदायमा पनि पुग्न सकेनन् भने यसले नेपालमा लागू भएको क्लिनफिडका कारण नेपाललाई अगाडि बढाउनेभन्दा पनि पछाडि धकेल्ने निश्चित देखिन्छ। नेपाली माटोसुहाउँदो कार्यक्रम सञ्चालन गर्नु अनि नेपाली दर्शकलाई नेपाली च्यानलप्रति आकर्षित गर्नु अर्को चुनौती। हालका दिनमा जस्तै सस्ता सिरियल त्यसमा पनि कमेडी अनि खाली सीमित नेतालाई ल्याएर सञ्चालन गरिने टक सो अनि नायकनायिकाको अफेयर्स र स्क्यान्डल मात्रकै समाचार र गसिफहरू दिने मिडियाहरू पनि सच्चिन जरुरी छ।

नेपाली भूगोल भनेको विदेशी कार्यक्रमका फ्रेन्चाइज चलाउने उनीहरूको कार्यक्रमको लाइसेन्स एकदुई करोडमा किनेर त्यसैको सिको गर्दै कार्यक्रम उत्पादन र प्रसारण गर्नेभन्दा नेपाली माटो, भेषभूषा, हिमाल, पहाड र तराईका जनजीवन प्राकृतिक सुन्दरता समेटेर वृतिचित्र र डकुमेन्ट्रीहरू बनाउने मुलुक हो। हामीकहाँ बर्सेनि धेरै विदेशी डकुमेन्ट्रीका लागि आउने गर्छन् तर खै नेपाली मिडिया र मिडियाकर्मीले यसतर्फ ध्यान दिएको ? के हाम्रो आफ्नै स्रोतसाधनमा डकुमेन्ट्री तयार गरी विदेशी बजारमा प्रदर्शन गर्न सक्दैनौं ?

हामी त उही वासी र पुराना कार्यक्रम चलाउने साथै एयरपोर्ट छेउका सेकुवा कर्नरहरू जस्ता एउटाको कर्नरमा मानिस आउन थाले पसलहरूमा भीड लाग्न थालेको देखेमा हामी पनि सोही आसपास अर्को पसल खोल्न थालिहाल्छौं यही प्रवृत्ति मिडियामा पनि देखिन्छ। कुनै एक टेलिभिजनको फ्रेन्चाइज होस् वा अन्य कुनै कार्यक्रम चल्न थालेको उसको टीआरपी बढ्न थालेको हामी पनि जसरी हुन्छ त्यस्तै कार्यक्रम तयारी गर्न थाल्छौं। त्यसका लागि बजार अवस्था के छ विज्ञापन प्राप्त हुन्छ कि हुँदैन कुनै अध्ययन र तयारीविना नै। हो, हाम्रो समस्या नै यही हो। यसले त दर्शक आकर्षित गर्नेभन्दा पनि दर्शक भड्काउने मात्रै देखिन्छ।(साभार अन्नपूर्णपोष्ट)

Comments