कोभिशिल्ड’ खोप लगाएका १ जनामा स्वास्थ्य समस्या




 धनगढी १६ माघ: सुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका १ जनामा स्वास्थ्य समस्या  देखिएको छ। शुक्रबार कोरोना भाइरस विरुद्धको खोप अभियानको तेस्रो दिन झण्डै साढे १५ सय जनालाई खोप लगाइएकामा १ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।  

दार्चुला अस्पतालमा खोप लगाएका १ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएका उनी उपचारपछि घर फर्किसकेको समेत उनले बताए।

यसअघि अभियानको दोस्रो दिन बिहीबार खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या देखिएको थियो।

तेस्रो दिन १ हजार ५ सय १७ जनाले लगाए ‘कोभिशिल्ड

विज्ञापन

अभियानको तेस्रोे दिन प्रदेशका १० वटा खोप केन्द्रमार्फत १ हजार ५ सय १७ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत १ सय ५० र टीकापुर अस्पतालबाट ५२ जनाले खोप लगाएका छन्। 

यस्तै अछाममा २ सय ७३ जना, बैतडीमा १ सय ९०, बझाङमा ७०, बाजुरामा १ सय ३२, डडेल्धुरामा २ सय, दार्चुलामा २ सय ८, डोटीमा ६२ र कञ्चनपुरमा १ सय ८० जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए। यो सँगै सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या ३ हजार ९ सय ३६ पुगेको छ। 

दोस्रो दिन हिजो १० वटा खोप केन्द्रमार्फत १ हजार ३ सय ३७ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए।

Comments