काठमाडौं, पुस २३ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय छिनछिनमा बत्ति जाने समस्या लोडसेडिङको नभएर ट्रिपिङको भएको जनाएको छ ।बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणले विगतको बर्षभन्दा यो बर्ष बत्ति जाने क्रम कम भएको समेत स्पष्ट पारेको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उदृत गर्दै विज्ञप्तिमा प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित/अघोषित रुपमा विद्युत विद्युत कटौती (लोडसेडिङ) नगरिएको कुरा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सफर्मर सार्नुपर्र्ने लगायतका प्राविधिक समस्याको कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने कुरा उल्लेख छ । ।
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ (झयाप्प बत्ती जाने) भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गतवर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको बिज्ञप्तिमा जनाएइको छ ।
उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै भएको र विगतको बर्षभन्दा यो बर्ष कम र अर्काे बर्ष झनै कम हुने दावी प्राधिकरणको छ ।
सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सफर्मर सार्नु पर्र्नेलगायतका प्राविधिक समस्याको कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने शाक्यले बताउनुभयो ।
‘अहिलेसम्मको डाटा हेर्दा गतवर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उहाँले भन्नुभयो । ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्याे भन्ने नबुझ्न उहाँले अनुरोध समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ लोडसेडिङ हुन लाग्यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’
उहाँले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्ने लगायतका काम निरन्तर भइरहेको बताउनुभयो । स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउने लगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताउनुभयो ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भार लगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मङ्सिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३६२ पटक मात्रै गरिएको प्राधिकरणको दावी छ ।
विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेहको बिज्ञप्तिमा उल्लेख छ ।(साभार
गोरखापत्र अनलाइन)
Comments
Post a Comment