कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु

 


सुर्खेत, माघ १८ गते । कोरोना संक्रमणका कारण आइतबार कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं. ५, का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उहाँलाई उच्च रक्तचाप रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आवश्यक उपचार गरिएको भए पनि सुधार नभइ मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मृत्तकको शव व्यवस्थापन भइसकेको बताउनुभयो । थप एक जनाको मृत्यु भएसँगै कर्णाली मृतकको संख्या तीस पुगेको छ । महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतका १६, दैलेखका सात, सल्यान, रुकुम पश्चिम, कालिकोट र डोल्पाका एक÷एक जना र अन्य प्रदेशका तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय १३ रहेको छ । अहिलेसम्म सुर्खेतमा तीन हजार दुई सय ३४, दैलेखमा एक हजार छ सय ८१, जाजरकोटमा एक सय ५९, सल्यानका छ सय ९३, रुकुम पश्चिममा दुई सय ५७, जुम्लामा चार सय १४, कालिकोटमा तीन सय ३१, हुम्लामा ५९, मुगुमा ४१, डोल्पामा ४४, अन्य प्रदेश पाँच सय ९५ र भारतका पाँच जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म सात हजार दुई सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।(मुना हमाल गोरखापत्र आनलाइन) 

Comments