कैलारी पोष्ट संबाददाता, १६ माघ । कैलालीको कैलारी गाउँपालिकाको गाउँसभा बैठकले वातावरणीय प्रभाव मूल्याङ्कन (आइईई) र कर्मचारी संगठनात्मक ढाँचा (ओएनएम) पास गरेको छ ।
सातौं अधिवेशन अन्तर्गत शुक्रबार बसेको गाउँ सभा बैठकले आइईई नियमावली र ओएनएम पास गरेको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको बैठकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको गाउँपालिकाको आर्थिक कारोबार पनि पास गरेको प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार गाउँ सभा बैठकबाट शहीद दिवसको अवसरमा शहीदलाई श्रद्धाञ्जलि दिने निर्णय गरिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु असंवौनिक कार्य रहेको गाउँ सभा बैठकले ठहर गरेको छ । सो असंवैधानिक कार्य सच्याउन दबाव दिने सर्वसम्मतले निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।
यसैगरी, सङ्घ, प्रदेश र स्थानीय तीन तहकै सरकारबीच कतिपय काममा समन्वय, सहकार्य, र सहअस्तित्व कायम नभएको देखिएको भन्दै गाउँ सभा बैठकले तीन तहकै सरकारबीच समन्वय, सहकार्य, र सहअस्तित्व हुनु पर्ने जोड दिएको छ ।
बैठकमा गाउँपालिकालाई थप सुधार गरेर अगाडि बढाउने र अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा दिइने कार्यक्रम अगाडि बढाउने सवालमासमेत छलफल भएको थियो । गाउँ सभा बैठकमा विशेष समय लिएर शुवा परियार, रामकुमार चौधरी, गणेशप्रसाद चौधरी, मुसम्पी चौधरी, प्रेमबहादुर चौधरी, विष्णुप्रसाद चौधरी, कैलाश चौधरी र कमलप्रसाद चौधरीले बोलेका थिए ।
बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । गाउँसभाको अर्को बैठक माघ २३ गते ११ बजे बोलाइएको छ ।
Comments
Post a Comment