पहिरो प्रभावित तराई झरेर त्रिपालमुनि बास बस्न थाले

 


धनगढी, १ पुष । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित तराई झरेर त्रिपालमुनि बास बस्न थालेका छन् । गौरीगङ्गा नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रमा उनीहरु चिसोमा त्रिपालमुनि रात काट्न थालेका हुन । पुनस्र्थापनाको माग गर्दै तराई झरेको प्रभावितले बताएका छन् । अहिले झन्डै एक सय परिवार चुरेबाट आएर जङ्गलमा बास बसिरहेका छन् । 

गत साउनमा पहिरोको जोखिम भएपछि विस्थापित भएका उनीहरु सुरक्षित बसोबासको खोजीमा तराई झरेका बताउँछन् । विगत चार महिनादेखि घर छोडेका उनीहरु केही दिन अगाडि गौरीगङ्गा नगरपालिकास्थित वन क्षेत्रमा आएर बसेका हुन । 

उचित पुनस्र्थापनाको खोजीमा रहेको आफूहरु गत शुक्रबार तराई झरेको चुरे गाउँपालिका–६ गौजनाका भक्तबहादुर बोहराले बताए । ‘पहिरोको जोखिम टरेको छैन । सुरक्षित ठाउँमा हामीलाई नसारेपछि उपयुक्त बसोबास खोज्दै तराई झरेका हौं’, उनले भने । 

प्रभावितहरुका अनुसार गत साउन १५ देखि २५ गतेसम्म पहिरो खसेको थियो । माथिबाट खसेको पहिरो घरसम्मै पुग्यो । जोखिम बढेपछि वडा नम्बर ४, ५, ६ मा पर्ने गौजना, बगेडी, तल्लो गौजना, गुँडी, तितरे, बसडी र सिस्नेरी गाउँका २११ परिवार प्रभावित भएका छन् । 

‘घरमा बस्न नसकेर हामी तल झरेका हौं’, वडा नम्बर ६ बगेडीकी पद्मा कार्कीले भनिन् । सरकारले आफूहरुको तत्काल पुनस्र्थापना गर्नु पर्ने उनले बताइन् । पहिरो खसेपछि घरबाट विस्थापित भइ विद्यालय, सडक छेउछाउमा चार महिना बिताएको पूर्णबहादुर कार्कीले बताए ।

‘यत्तिका दिनसम्म हाम्रो केही व्यवस्था हुने आशमा बसेका थियौं’, उनले भने । ‘कसैले चासे नदिएपछि तराई झरेका हौं ।’ गत शुक्रबार छिमेकी स्थानीय तह गौरीगङ्गा पुगेका प्रभावितहरु वन क्षेत्रमा त्रिपालमुनि बसिरहेका छन् । चिसो मौसममा बालबच्चासहित वन क्षेत्रमा पुगेका उनीहरुले सरकारले शीघ्र उपयुक्त बसोबासको व्यवस्था गर्नु पर्ने माग राखेका छन् । 

‘चिसोमा बालबालिकालाई समस्या हुन्छ । कतिञ्जेलसम्म यसरी बस्ने ?’, दुई बच्चाकी आमा निर्मला बोहराले भनिन् । ‘हामीलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरियोस ।’ चिसो छल्न रातभरि आगो टापेर बस्ने गरेको उनको भनाइ थियो । विस्थापित भएपछि बालबालिकालाई स्कुल जान पनि समस्या रहेको उनले उल्लेख गरिन । 

‘यस्तो महामारीको बेला जंगलमा बसेपछि बालबालिका विद्यालय जान पाएका छैनन्’, उनले भनिन् । 
केही पहिरो प्रभावित अझै गाउँतिरै रहेका जनाइएको छ । गाउँतिरै रहेका पहिरो प्रभावित बाँकी परिवार पनि तराई झर्ने तयारी गरेको विस्थापितले बताएका छन् ।

उनीहरुका अनुसार पहिरो खसेर गाउँमा खेतीपातीसमेत गर्न सकिने अवस्था छैन । खेतमा झरेको पहिरोले आफूहरुको गुजारा गर्ने जमिनसमेत खोसेको पूर्णबहादुर कार्कीले बताए । 

‘कसै–कसैको घरमा पनि पहिरो खस्यो’, उनल भने । ‘तर, प्रायः व्यक्तिको खेतीयोग्य जमिनमा पहिरो खसेर जमिननै खोसेको छ ।’ प्रभावितहरुले आफूहरुको उचित पुनस्र्थापनाको दबाब दिनका लागि सङ्घर्ष समितिसमेत गठन गरेका छन् । उचित पुनस्र्थापना नभएमा सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् । 

प्रभावितहरुको व्यवस्थापनका लागि पहल गरिरहेको चुरे गाउँपालिकाको कार्यालयले जनाएको छ । प्रभावितहरुको व्यवस्थापन गाउँपालिकाले आफैले गर्न नसक्ने भएकाले माथिल्ला निकायमा पहल गरिरहेको सो गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले बताए ।

‘उनीहरुको व्यवस्थापन हामीले भन्दा पनि राज्यले गर्ने कुरा हो’, उनले भने । ‘उचित व्यवस्थापनका लागि हामीले प्रदेश र सङ्घीय सरकारलाई पत्र पठाइ सकेका छौं ।’ गाउँपालिकाले पहिरो, बाढी प्रभावित २११ परिवारको तथ्याङ्क राखेको रोकामगरले जानकारी दिए ।

प्रभावितहरुलाई बस्नका लागि गाउँपालिकाले कार्यालयले केही ठाउँमा विकल्प पनि दिएको अध्यक्ष रोकमगरले बताए । ‘अहिले भने उनीहरु आफै तराईमा गएका हुन’, उनले भने । ‘गाउँपालिकाले त्यहाँ गएर बस्नका लागि केही पनि भनेको छैन ।’ उनीहरुको उचित बसोबासका लागि मंगलबार पनि प्रदेश र संघीय सरकारलाई आग्रह गरेको अध्यक्ष रोकामगरले बताए । 

Comments