काठमाडौँ, मङ्सिर २८ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले छ वटा नयाँ जातका गहुँको बीउ विकास गरी सिफारिस गरेको छ । नयाँ विकसित गहुँका जातहरू जिङ्क तत्त्व अत्यधिक पाइने र धेरै उत्पादन दिने खालको भएको नार्कका बाली तथा बागवानी निर्देशक रामबहादुर केसीले बताउनुभयो ।साथै नयाँ जात हावापानीको विविधतालाई समेत सहन सक्ने खालको रहेको उहाँले बताउनुभयो । नयाँ बीउहरूमा जिङ्क गहुँ १, जिङ्क गहुँ २, भेरी गंगा, हिमगंगा, खुमल–शक्ति र बोरलग २०२० रहेका छन् ।
नयाँमध्ये पाँच प्रकारका गहुँमा महत्वपूर्ण सूक्ष्म पोषकतत्त्व जिङ्क उच्च मात्रामा पाइने र बोर्लग २०२० भने सुख्खा र गर्मीमा समेत खेती गर्न सकिने तथा धेरै फसल दिने खालको रहेको बताइएको छ । बोर्लग २०२० सन् २०१४ मा मेक्सिकोमा नोबेल शान्ति पुरस्कार विजेता नोर्मन बोरलगको स्मृतिमा जारी गरिएको बोरलग १०० बराबरको रहेको नार्कले जनाएको छ । या धेरै फल्ने र उच्च उत्पादकत्व दिने जातको रुपमा चर्चित रहेको निर्देशक केसीले बताउनुभयो ।
गहुँका यी नयाँ जातिहरू तुलनात्मक रुपमा गर्मी हुने बेँसी तथा तराईदेखि मध्य तथा उच्च पहाडी भूभागका जमिनहरूमा समेत उत्पादन दिन सक्ने रहेको निर्देशक केसीको भनाइ छ । त्यस्तै यी जातहरू सिँचाइ भएका र सिँचाइ सुविधा नभएका सुख्खा क्षेत्रका किसानसमेत लाभान्वित हुनेछ ।
यी नयाँ जातको गहुँ लगाई १० लाख किसानले उत्पादन बढाउन सकिने नार्कका प्राविधिहरूले बताउनुभएको छ ।
नेपालमा सात लाख पचास हजार हेक्टर जमिनमा लगाएको गहुँखेतीबाट बर्सेनि दश लाख ९६ हजार टन गहुँ उत्पादन हुने गरेको नार्कले जनाएको छ । नेपालमा हाल खेती गरिँदै आएका प्रचलित गहुँका जातहरूमा सिन्दुरे रोगको प्रकोप देखिएकाले उत्पादकत्व घट्दै गएको निर्देशक केसीले बताउनुभयो । अहिले नयाँ सिफारिस गरिएका जातहरूमा भने सिन्दुरे र गहुँको मरुवा रोग पनि कम लाग्ने भएकोले उत्पादकत्व बढ्ने उहाँले बताउनुभयो ।
जिङ्क तथा आइरनको प्रचुरता अभिवृद्धि हुने गरी विकास गरिएको हुनाले यो पोषण सुधारको दृष्टिले समेत महत्वपूर्ण रहेको निर्देशक केसीको भनाइ छ ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवा र राष्ट्रिय बाली प्रजनन र अनुसन्धान केन्द्र खुमलटारले गरेको यो अनुसन्धानमा अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रले सहयोग गरेको थियो । आइरन र जिङ्क तत्त्व धेरै भएका यी गहुँका जात विकास गर्न झण्डै १० वर्ष अनुसन्धान गरिएको निर्देशक केसीले बताउनुभयो ।
अहिले यी जातका गहुँका बीउबिजन प्रशस्त मात्रामा रहेको नार्कले जनाएको छ । तर राष्ट्रिय बीउबिजन समितिले स्वीकृत गरी राजपत्रमा प्रकाशन भइसकेपछि किसानसमक्ष व्यापक मात्रामा पुग्न भने केही समय लाग्ने उहाँले बताउनुभयो ।
निर्देशक केसीले भन्नुभयो, ‘आइरन तथा जिङ्क तत्त्वको कमीका कारण कुपोषण भई बालबालिकामा पुड्कोपन बढ्ने लगायत धेरै कुपोषणका असर देखिन्छन् । नेपालमा धान र मकैपछिको तेस्रो मुख्य अन्नबाली गहुँको नश्लमा गरिएको यो सुधारले पोषण सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
नार्कका वैज्ञानिक तथा प्राविधिकहरूबाट कोभिड १९ को चुनौती र व्यवधानहरूकाबीच पनि एकैपटक छ वटा प्रजातिको अनुसन्धान गरी बीउ सिफारिस गरिने महत्वपूर्ण उपलब्धी भएको नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले बताउनुभयो ।
Comments
Post a Comment