नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको

 


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ। सोहीबमोजिम वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट स्वतः अध्यक्ष चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच कडा प्रतिस्पर्धा भएको छ। यो समाचार तयार पार्दासम्म जिल्ला र वस्तुगत उपाध्यक्षमा प्रधान प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। १९ सदस्यसहित एसोसिएटतर्फको उपाध्यक्ष अनि वरिष्ठ उपाध्यक्षको मतगणना शनिबार मध्यरातसम्म जारी छ।

annapurna post

जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ५८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका थिए। 

जिल्ला तथा नगरका तर्फबाट केन्द्रीय समितिमा १८ जना कार्यकारिणी समितिका लागि ३८ जना प्रतिस्पर्धामा थिए। जिल्ला नगरका अधिकांश सदस्यमा प्रधान समूहबाट निर्वाचित भएका छन्। प्रधान प्यानलका ११ र ढकाल प्यानलबाट ७ जना जिल्ला नगर सदस्यमा निर्वाचित भएका हुन्।

जिल्ला तथा नगरका सदस्यमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभकान्त पौडेल, कमल श्रेष्ठ, गजेन्द्र भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर खड्का, सुरकृष्ण वैद्य, कुबिरकुमार श्रेष्ठ, डीबी बस्नेत, उमेश डालमिया, किशोरकुमार आचार्य, महेन्द्रकुमार श्रेष्ठ, अमृत भट्टचन र गोपाल कौडिया निर्वाचित भएका छन्।

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित विजयी भएका छन्। उनले ६२ मत ल्याउँदा प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे। वस्तुगततर्फ सदस्यमा दुवै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। १४ सदस्यका लागि २९ जना प्रतिस्पर्धामा थिए। सदस्यमा दुवै समूहबाट ७/७ जना निर्वाचित भएका छन्।

वस्तुगत सदस्यतर्फ सबभन्दा धेरै मत ल्याउने नरेशलाल श्रेष्ठ छन्। वस्तुगततर्फ मीनमान श्रेष्ठ, सुमितकुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, प्रकाशसिंह कार्की, सुकुन्तलाल हिराचन, हेमराज ढकाल, सुवोधकुमार गुप्ता, गोविन्द ढुंगेल, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल र आकाश अधिकारी विजयी भएका हुन्। खसेको कुल १०५ मतमध्ये २ मत बदर भएको थियो।

संस्थापक संघतर्फबाट दामु अधिकारी केन्द्रीय सदस्यमा विजयी भएका छन्। उनी ढकाल प्यानलका हुन्। २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत (शतप्रतिशत) ल्याएर विजयी भएका छन्। गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी 
भएका छन्। 

Comments