धनगढी १३ कार्तिक । निर्माणाधिन मोहना–अत्तरिया ६ लेन सडकको ठेक्का सम्झौता अवधि सकिन अब ४ महिना मात्रै बाँकी छ ।
सो सडकमा पुल निर्माणको लागि थप गरिएको समय माघमा सकिदै छ । तर सडक क्षेत्रमा पर्ने ३ पुल निर्माणको अझै ठेक्का सम्झौता भएको छैन् । २ पुलको ठेक्का आह्वान गरिएको बताइएको छ । भने एक पुलको ठेक्का आह्वान समेत गरिएको छैन् ।
मोहनापुल–अत्तरिया सडक योजना कार्यालयका इन्जिनीयर लक्ष्मण रावलले नेपाल–भारत सीमानासंग जोडिएको मोहना नदीमाथि निर्माण गर्ने भनिएको पुलको ठेक्का प्रक्रिया अगाडी नबढेकोे बताए ।
मोहनापुल–अत्तरिया सडक क्षेत्रमा पर्ने २ पुलको टेन्डरको अन्तिम समय कार्तिक ११ गतेसम्म थियो । तर ११ गते (मंगलबार) सार्वजनिक विदा परेकोले अझै १ हप्ता समय लाग्ने रावलले बताए । १ हप्तापछि मात्र क–कस्ले टेन्डर हालेको छ, सो बारेमा जानकारी हुने उनको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय टेन्डर आवह्वान गरेका थियौ । मंगलबार खोलिने म्याद थियो । तर विदाको दिन भएछ । टेण्डर आह्वान गर्दा हेरिएन् । एक हप्ता थप गर्नु पर्ने देखिएको छ’, उनले दिनेश खबरलाई भने ।
६२ मिटरको मनहरा र २४ मिटरको सुनिखोला पुल निर्माणका लागि ठेक्का प्रक्रिया थालिएको हो । कति बजेट इस्टिमेटमा २ पुल निर्माण हुँदैछन् । त्यो खुलको छैन् । सम्झौताको समयमा मात्र खुल्ने इन्जिनीयर रावलले बताए ।
६ लेन सडकमै निर्माण गर्ने भनिएका ३ अकाशे पुलको हकमा पनि प्रक्रिया गति लिएको छैन् । मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीको अर्को पुल निर्माणको प्रस्ताव सडक विभागले स्वीकृत गरेको छ ।
अध्ययनको लागि विभागले नै टोली पठाउने जनाइएको छ । माटो परिक्षण लगायतको काम समेत नथालिएको इन्जिनीयर रावलले सुनाए ।
धनगढीको सवारी चाप बढी हुने क्षेत्रमा अकाशे पुल निर्माण गर्ने योजना रहेको कार्यालयले बताएको हो । धनगढीको ट्राफिक चौराहा, राजपुर र धनगढी विमानस्थल क्षेत्रमा अकाशे पुल निर्माण गर्ने बताइएको छ ।
मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर ६ लेन सडक ३ खण्डमा ठेक्का लगाइएको छ । सडकको दुबैतर्फ कालोपत्रे भएको छ । तर पूर्णता भने पाएको छैन् । कालोपत्रेको १ तह अझै थप गर्न बाँकी रहेको भन्दै निर्माण कम्पनीहरुले ६ महिनाको समय थप गर्न माग गरेर निवेदन दिएको जनाइएको छ ।
उनीहरुले कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनले काम प्रभावित भएको दावी गरेका छन् ।
Comments
Post a Comment