कैलाली, ७ कार्तिक । थारु समुदाय संस्कृति, नाँचगानमा धनि भएको समुदाय भित्र पर्दछ । मनोरन्जनकोलागि थारु समुदाय आफैले बनाएको गीतबाँस, नाँचगानमा रमाउने चलन छ ।
गत वर्षको दशैं तिहारमा राति भएपछि मादल र मन्जिराको छुन छुन अवाजले थारु गाउँ चैनार (रमझम) हुन्थ्यो । कृष्णा जन्मअष्टमीको दिनदेखि शुरु हुने सखिया नाच दशैमा समापन हुन्थ्यो । तर यो वर्षको दशैं कोरोना माहामारीको कारण एकदमै सुनसान छ ।
कैलालीको कैलारी गाउँपालिका–३, उत्तरभर्री गाउँका स्थानीय यूवा यूवतिहरु गत वर्ष जेउँरा (जमरा) राखेको दिनदेखि समरौटी गाएर ट्रासन ठोकेका (नाँचको सुभारम्भ गरेको) थिए । तर यो वर्ष कोरोना महामारीको कारण थारु संस्कृतिमा समेत प्रभाव परेको गाउँका भलमन्सा छोटेलाल चौधरी बताउछन् ।
उनले गाउँको बर्का गुरुवा र केसौका मार्फत कुल देउथान कालिमाईमा देवीदेवताहरुको पूूजा आराधना सहित ट्रासन ठोकेपछि मात्रै सखिया नाँच्न पाउँने रितिरिवाज रहेको बताए । यो वर्ष सम्भव भएन ।
‘कुनैपनि कामको शुरुवात गर्दा निश्चित विधि पद्धति पुरा गर्नुपर्छ । त्यस्तै थारु समुदायमा सखिया नाँच्नुपुर्व या अन्या नाँच जस्तै मुङ्गाहुवा, बडका नाच लगायतको सांस्कृतिक कार्यक्रम गर्ने क्रममा समरौटी गाउँने र ट्रासन ठोक्ने गरिन्छ ।’
कोरोना संक्रमणको कारण यो वर्ष ढिक्रहुवा र पिटरहुवाको दिन भने एकछिन् सखिया नाच नाच्ने सल्लाह भईरहेको भल्मन्सा चौधरी बताए । उनले भने ‘उत्तरभरी गाउँमा सखिया र झुम्रा नाँच पुर्खौदेखि हाल सम्म निरन्तरता नै थियो । जुन कारण यो वर्ष कोरोनालाई मध्यनजर गर्दै एक छिन भएपनि नाच्नुपर्ने गाउँको बैठकमा सल्लाह भईरहेको छ ।’
दशैको आगमनमा मन्जिरा र मादलको अवाज उत्तरभर्री गाउँमा मात्रै होईन पश्चिम नेपालको प्रायः थारु गाउँ बस्तीमा कृष्णाजन्म अष्टिमको विहानदेखि नाँचको अभ्यास हुन्थ्यो । जुन कारण गाउँ गाउँका नाचमा प्रतस्पिर्धापनि हुन्थ्यो । दशैंमा गाउँको ठूला बडा अगुवा, बुद्धिजीवि, राजनेताहरुको घरमा सम्मान स्वरुप नाच लिएर अर्शिरवाद लिन जाने चनलपनि छ । जसको रौनकले पुरै गाउँ नै चैनार हुन्थ्यो ।
कैलालीको भादा होम स्टे थारु गाउँमापनि विगत १० बर्षदेखि सखिया, झुम्रा नाँच देखाएर पर्यटकहरुलाई स्वागत गर्ने गरिन्छ । तर यो वर्ष कोरोनाको कारणले सुनसान रहेको होम–स्टे व्यवस्थापन समितिको अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।
उनले भने ‘सखिया दशैंको पूर्व सन्ध्यामा एक महिना आगाडी रातको समयम नाँच्ने गरिन्थ्यो । जहाँ पैया नाच्ने बेला २२ देखि ५५ खोट ( स्टेप) रहेको छ । यो अवधिमा नाँचसंगै गितको माध्यमबाट धेरै ज्ञान हासिल गर्न सकिन्छ ।’
अध्यक्ष चौधरीले भने ‘भादा होम–स्टे गाउँमा दैनिक पर्यटकहरु आउने गरेकोले मनोरञ्जनको लागि सखिया, झुम्रा नाँच देखाउदै आएका थियो । तर यो वर्ष कोरोनाले होम–स्टे पनि बन्द अवस्थामा छ । गाउँपनि सुनसान ।’
दशैंमा सखिया नाचको लागि मादल बजाउने पुरुष दौना (एक प्रकारको फूलको पात) को बास्नादार माला, सेतो धोती र कमिज लगाएर सखिया नचाउँछन् । मादल भने पुरुषले नै बजाउँछन् । नाचमा सघाउने पनि सबै महिला नै हुन्छन् । थारू समुदायले शिव पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने गर्दछन् ।
१५ देखि २० जनाको समुहमा सखिया नाच्ने युवतीले फरिया चोलिया बुटट्ेदार लेहंगा थारु गरगहनामा सजिएका हुन्छन् ।
तराईका थारु बाहुल्य बस्तीमा दसैं भरी मादल नबजेको दिन नै हुँदैन । खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । नाचगानमा थारु निकै व्यवस्थित छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । थारु बस्तीमा बाह्रैमास नाचगान भने हुँदैन ।
देउताको पुजा गरेर मादल बजाउने वा बन्द गर्ने हुन्छ । खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कार्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गरिन्छ ।
Comments
Post a Comment