काठमाडौं । केही दिनदेखि निरन्तर परेको झरी आजबाट रोकिने भएको छ । प्रदेश नं. १ मा आज झरी परे पनि भोलिबाट क्रमशः मौसम सफा हुँदै जाने भएको छ ।
“प्रदेश नं. १ मा हिजो पनि भारी वर्षा भयो । आज पनि झरी पर्ने छ । अन्य प्रदेशबाट सकिँदै गएर प्रदेश नं. १ मा मात्रै बाँकी रहेको झरी आज पनि रहने छ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले भने, “न्यून चापीय प्रणालीका कारण भइरहेको निरन्तरको वर्षा भने आजबाट प्रदेश नं. १ मा पनि अन्त्य हुने छ ।”
उनका अनुसार झरी अन्त्य भए पनि सक्रिय मनसुन अन्त्य हुन भने अझै एक साता लाग्ने छ ।
सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै एक साता मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने देखियो,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “मनसुन अझै एक सातासम्म जारी रहने छ ।”
३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।
यसैबीच, आज दिउँसो प्रदेश नं १ का केही स्थानमा भारी वर्षाका सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा भने साँझ पख हल्का वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।
प्रदेश नं. १, प्रदेश नं. २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा बाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हवाई तथा स्थलगत यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।
Comments
Post a Comment