सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन: सहरी विकासमन्त्री प्रभु साह

 


काठमाडौँ, माघ ३० । सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको बताउनुभएको छ । वैशाखमा घोषित निर्वाचनलाई भव्य रूपमा सम्पन्न गर्न सरकारले निर्वाचन केन्द्रित कार्यक्रमहरू अगाडि बढाएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षको अहिलेसम्मको कार्य प्रगतिबारे जानकारी दिन बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जनताको सम्बोधन सरकारको प्राथमिकता भएको बताउनुभयो ।
उहाँले विशेष गरी विपन्न वर्गलाई लक्षित गरी सरकारद्वारा सञ्चालिच जनता आवास, सुरक्षित नागरिक आवास तथा खरको छाना विस्थापन गर्ने कार्यक्रम मन्त्रालयको विशेष प्राथमिकतामा रहेको बताउनुभयो ।
मन्त्रालयका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अहिलेसम्म छ हजार ९६७ आवासको निर्माण सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्षमा एक लाख पचास हजार र आगामी तीन वर्षभित्र सात लाख पचास हजार खरका छाना विस्थापन गर्ने सरकारको लक्ष्य छ ।
चालू आर्थिक वर्षको अहिलेसम्मको मन्त्रालयको कार्य प्रगतिबारे जानकारी दिँदै मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सघन सहरी विकास कार्यक्रमअन्तर्गत भारतसँग सीमा जोडिएका १८ वटा जिल्लामा विगत तीन वर्षको अवधिमा पाँच सय किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी नयाँ सहर आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग र आसपासका १२ वटा, हुलाकी लोकमार्ग र तराई–मधेसका १५ वटा गरी २७ वटा नयाँ सहरमा विगत तीन वर्षको अवधिमा २७९ किलोमिटर सडकको ट्र्याक खोलिएको उहाँले बताउनुभयो । मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ‘एमआई–१७’ हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरी सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

Comments