कक्षा १२ को परीक्षाफल सार्वजनिक

 


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६०  र एक लाख नौ हजार ३१२ जनाले  २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन्। 

     
त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।

annapurna post

परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३१६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २७१ जना सहभागी थिए। आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनाका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगन गरिएको छ। आंशिकतर्फ २५ हजार २८८ विद्यार्थी उतीर्ण भएका छन्। 

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र सङ्क्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो।  कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिए। परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड– १९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो। कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो। बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ। - रासस

Comments