प्रधानमन्त्रीको भ्रमणले सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु स्वागतमा सहभागी हुने-नहुने विषयमा अलमल
धनगढी २४ पुस: प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो।
प्रतिनिधिसभा विघटनपछि स्पष्ट रुपमा दुई समूहमा पार्टी विभाजित भएका बेला प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइहेकाले प्रदेशका मन्त्रीहरुले आफ्नो गृह नगरीमा आउँदा कसरी स्वागत गर्लान भन्ने सर्वत्र चासो बढेको छ।
तर प्रदेश सरकारका मन्त्रीहरुले भने त्यसबारेमा अहिलेसम्म निर्णय लिन नसकेको पाइएको छ। प्रचण्ड–नेपाल समूहमा रहेका सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले आफू काममै व्यस्त हुँदा त्यसबारे खासै जानकारी नभएको प्रतिक्रिया दिदै मुख्यमन्त्रीलाई बुझ्न आग्रह गरे।
‘अहिलेसम्म म काममै व्यस्त छु,’ मन्त्री सुवेदीले दिनेशखबरसँग भने, ‘त्यो विषयमा जानकारी छैन्। मुख्यमन्त्री ज्यूलाई थाहा होला त्यो कुरा उतै बुझ्नु न।’
यसअघि प्रधानमन्त्री एवंम् नेकपाका अन्य केन्द्रीय नेताहरु आउँदा स्वागतका लागि पुष्पगुच्छा लिएरै धनगढी विमानस्थल पुग्ने गरेका मन्त्री मात्र नभएर मुख्यमन्त्री समेत अन्योलमै रहेको पाइएको छ।
देशको प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई स्वागत गर्नुपर्ने नैतिक र पदीय बाध्यता भएपनि पार्टीको एउटा गुटको कार्यक्रममा सहभागी हुन आइरहेकाले के गर्ने भन्ने अन्योलता कायमै रहेको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए।
Comments
Post a Comment