थरुहट र थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध ५० हजार युवा उतार्ने तयारी

 


धनगढी, ११ माघ । थरुहट र थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध ५० हजार युवा उतार्ने तयारी गरिरहेको छ । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले राज्यबाट निरन्तर दमन भईरहेको बताउँदै विद्रोहको तयारीमा रहेको बताए । उनले भने ‘धनगढी नै हब हो, फागुन १५ र १६ गते कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता प्रदर्शन गर्दैछौ।’

कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै प्रवक्ता थारुले अबको आफुहरुको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने उल्लेख गरे।

प्रवक्ता थारुले भने ‘आन्दोलन अब प्रतिरोधात्मक र प्रतिकात्मक हुन्छ। सरकारलाई असहयोग हुन्छ। सरकारलाई असफल बनाउँछौ। अन्तिम विद्रोहको तयारी नै हो ।’

टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग रहेको बताए ।

पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मणसहितलाई जन्मकैद फैसला सुनाएको थियो। सो फैसला विरुद्ध मोर्चा विरोधमा उत्रिएको छ।

Comments