धनगढी, १६ भदौ/ कञ्चपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई कारबाही हुने भएको छ । सञ्चालनमा नरहेको झोलामा राखिएको नक्कली विद्यालय सिफारिस गरेको भन्दै दुबै जनालाई नगर कार्यपालिकाले कारबाहीको सिफारिस गरेको हो ।
शुक्लाफाँटा नगरपालिका–१० मा दर्ता भएको खप्तड शिक्षा सदन नामक निजी विद्यालयलाई शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले बेलौरी नगरपालिका–४ मा सार्न सिफारिस गरेका थिए ।
नगर प्रमुख ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले कार्यालय प्रमुख बिदामा रहेको मौका छोपी खप्तड शिक्षा सदनलाई सिफारिस गरेको देखिएकोले दुवैजनालाई शुक्लाफाँटा नगर कार्यापालिकाले निर्णयगरी कारबाहीलागि सिफारिस गरेको छानबिन समिति संयोजक तथा शुक्लाफाँटा नगरपालिकाको ४ नम्बर अध्यक्ष ज्ञानेन्द्र सिंह बिष्टले बताए ।
‘खप्तड शिक्षा सदन विद्यालयको अहिलेसम्म शुक्लाफाँट नगरपालिकामा कुनै अभिलेख छैन’, विष्टले भने, ‘भौतिक संरचना पनि छैन, यस विषयमा छानबिन गरी अभिलेख हेर्दा नगर प्रमुख र शिक्षा शाखा प्रमुख भट्टको संलग्नता देखिएको प्रस्ट आधार रहेकोले नगर कार्यापालिकाले दुवै उपर कानुनी कारबाहीकोलागि सिफारिस गरेकोे हो ।’
Comments
Post a Comment