धनगढी उप–महानगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिन थाल्यााे

 



धनगढी,१६ भदाै। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ। धनगढी उप–महानगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको जनाएको हो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वस्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिदै गएको छ। हामी टेस्टीङ र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिन्छौ।’

उनका अनुसार प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा सोमवार सम्म दुई सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये ७५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। जुन कुल संक्रमितको ३० प्रतिशत हो।

जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ। सोमवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कसैको पनि ट्राभल हिस्ट्री देखिएको छैन्। प्रादेशिक अस्पतालका अनुसार सबैभन्दा बढि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरुमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए। एम्बुलेन्स चालकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो। वडा नम्वर ५ कै अर्का संक्रमित भने कानुन व्यवसायी हुन्। 

वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवकमा संक्रमण पुष्टि भएकोमा युवक व्यापारी हुन्। यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा आज उनकी नौँ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो। यस्तै सोमवार नै वडा नम्वर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। दुबै पुरुष भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन्। 

ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ।
 

Comments