धनगढी–गौरीफन्टा नाकाबाट भारती नागरिकलाई प्रवेश अनुमती नभएपनि आर्थिक लाभमा परेका सुरक्षाकर्मीले धमाधम प्रवेश अनुमती दिन थालेका छन्। बिहिवार मात्रै गौरीफन्टा नाकाबाट दुई जना भारतीय नागरिकलाई प्रवेश अनुमती दिएर धनगढी पठाइएको छ।
धनगढीमा व्यवसाय गर्दै आएका भारतीय नागरिक (आमाछोरी) लाई गौरीफन्टामा खटिएका सशस्त्र प्रहरीले आर्थिक लाभ लिएर प्रवेश अनुमती दिएको हो।
सशस्त्र प्रहरीले बिहीवार साँझ भारतीय नागरिकलाई रेड लेवल लिएर भारतीय नागरिकलाई भारतबाट धनगढी आउन दिएको आरोप लागेको हो।
‘बरेलीस्थित घरबाट आएका उनीहरु दिनभरी गौरीफन्टामा बसेका थिए। सशस्त्र प्रहरीले उनीहरुलाई साँझ ५ बजेपछि धनगढी भित्रिन दिएको थियो,’ समाचार स्रोतले भन्यो, ‘गौरीफन्टामा रहेकी आमा र छोरीलाई प्रवेश गराउन धनगढीमा रहेका आफन्तले सशस्त्र प्रहरीलाई रेड लेवल उपहार दिए। त्यसपछि उनीहरुले प्रवेश अनुमती पाए।’
कोरोना भाईरसको महामारीका कारण अहिले कुनै पनि नाकाबाट भारतीय नागरिकलाई प्रवेश अनुमती छैन्। अहिले गौरीफन्टा नाकामा कञ्चनपुर मातहतको सुरक्षा टोली खटिएको छ। सशस्त्र प्रहरी बल नम्वर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्रसिंह ऐरले सो बारेमा बुझ्ने बताए। उनले भने, ‘भारतीय नागरिकलाई यसरी प्रवेश गराएको पुष्टि भए संलग्नमाथि कारवाही हुन्छ।’
यसअघि पनि भारतीय नागरिकलाई सुरक्षाकर्मीले रकम लिएर नेपाल प्रवेशको अनुमती दिएका थिए। सो विषयमा कैलालीमा अनुसन्धान टोली गठन भएकोमा कञ्चनपुरमै कार्यरत एक प्रहरीले रकम लिएको अनुसन्धानबाट खुलेको थियो।
Comments
Post a Comment